Hardik Logo
None
23 Jan 2026

आगामी निर्वाचनको पूर्वसन्ध्यामा देशव्यापी युवा नागरिक संवाद सुरु

नेपालमा आगामी फागुन र चैतमा हुन गइरहेको आम निर्वाचन र देशको बदलिँदो राजनीतिक अवस्थालाई मध्यनजर गर्दै हार्दिक अभियान नेपालले देशभर "सचेत नागरिक, जिम्मेवार मतदान" नामक विशेष संवाद श्रृंखला सुरु गरेको छ।

पछिल्लो समय नेपालमा देखिएको राजनीतिक अस्थिरता र युवाहरूमा बढ्दो नैराश्यतालाई चिर्न संस्थाले काठमाडौं, सुदूरपश्चिमको धनगढी र कोशी प्रदेशका विभिन्न कलेजहरूमा अन्तक्रिया कार्यक्रमहरू सञ्चालन गरेको हो। यो अभियानको मुख्य उद्देश्य युवाहरूलाई केवल राजनीतिक नारामा मात्र नभई, विवेकशील भएर आफ्नो मताधिकार प्रयोग गर्न र सामाजिक सद्भाव कायम राख्न प्रेरित गर्नु रहेको छ।

संस्थाका प्रस्तावक गणेश जोशीका अनुसार, "निर्वाचनको समयमा समाजमा वैमनस्य र नकारात्मकता बढ्ने जोखिम हुन्छ। यस्तो बेला 'सहृदयता' र 'सकारात्मक सोच' झनै आवश्यक छ। हामी युवाहरूलाई कसरी एक जिम्मेवार नागरिक बन्ने र समाजमा शान्ति फैलाउने भन्ने कुरामा केन्द्रित गरिरहेका छौँ।"

यस अभियान अन्तर्गत आगामी हप्ता सुदूरपश्चिमका ग्रामीण भेगहरूमा "मानसिक स्वास्थ्य र सामाजिक उत्तरदायित्व" सम्बन्धी विशेष कार्यशालाहरू पनि आयोजना गरिनेछ। संस्थाले निर्वाचनको अवधिभर कुनै पनि किसिमको हिंसा वा द्वेषपूर्ण भाषण (Hate Speech) विरुद्ध डिजिटल सचेतना अभियान समेत चलाउने निर्णय गरेको छ।